आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

विद्यार्थी परिषद्द्धारा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यकारिणी समिति गठन

गोकर्णेश्वर खबर२९ चैत्र २०७७, आईतवार २२:५५ मा प्रकाशित (३ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं – प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आगामी दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ ।
विद्यार्थी परिषद्ले आफ्नो आठौं राष्ट्रिय अधिवेशनबाट आगामी वर्ष २०७७/०७९ का लागि नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको हो । अध्यक्ष डा. गोपिनाथ कण्डेल र महासचिव छितराज न्यौपानेको नेतृत्वमा ९९ जना पदाधिकारी एवं सदस्यको समिति गठन गरेको नवनिर्वाचित महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

यहि चैत्र २०, २१ र २२ गते मोरङको विराटनगरमा सम्पन्न आठौं अधिवेशनले तीन वटा प्रस्ताव पनि पारित गरेको छ । अधिवेशनबाट विश्व विद्यालयको पाठ्यक्रम, विद्यालयको मानोमानि शुल्क वृद्धि एव व्यापारीकरण विभिन्न विश्वविद्यालयको राजनीति लगायतका विषयमा आधारित शैक्षिक प्रस्ताव ,देशको वर्तमान परिस्थितिलाई लिएर समसामयिक प्रस्ताव र विश्वव्यापी कोरोना संकट र नेपालको अर्थतन्त्रमा यसको प्रभाव जस्ता महत्वपूर्ण तीन प्रस्ताव पारित भएको महासचिव न्यौपानेले बताए ।

अधिवेशनको सम्पूर्ण जानकारी गराउन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव न्यौपानेले देशभर जनजागरण एवं दबाबमूलक अभियान सञ्चालन गर्ने विद्यार्थी परिषद्को योजना रहेको बताए । देशभर वैचारिक आन्दोलनको श्रृङ्खला खडा गर्दै विद्यार्थी तथा युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने विद्यार्थी परिषद्को योजना छ ।

सांगठनिक कार्यलाई सम्पूर्ण जिल्लाहरूमा थप सशक्त रूपमा विस्तार गर्दै सांगठनिक सुदृढीकरण गर्ने, क्याम्पस इकाईलाई व्यापक र सक्रिय गराउने योजनाका साथ अघि बढ्ने महासचिव न्यौपानेले बताए ।
रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देश विकासका लागि इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिहरूको आवश्यकता रहेको बताए । उनले यसका लागि विद्यार्थी परिषद्ले गरेको कार्यबाट त्यस्तो व्यक्ति निर्माण हुने धारणा राखे ।

त्यस्तै विद्यार्थी परिषद्ले राष्ट्रिय अधिवेशनमार्फत राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट युवा उद्यमी ललितपुर निवासी देविका बुढाथोकीलाई सम्मान गरेको थियो ।