आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोनाको दोस्रो लहरः स्वास्थ्य मन्त्रालयले भन्यो- २५ जनाभन्दा बढी भेला नहुनुहोस्

गोकर्णेश्वर खबर२७ चैत्र २०७७, शुक्रबार २०:०१ मा प्रकाशित (३ साल अघि) ३४९ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।

मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा.( जागेश्वर गौतमले जानकारी दिए ।

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको प्रवक्ता गौतमको भनाई छ । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जनाभन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउनसक्छ ।’ उनले भने, ‘जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं । यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु । अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गयो।’

प्रवक्ता गौतमका अनुसार पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखापरेको छ । त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै विरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको उनले बताए ।

उनले भने, ‘लक्षणहरु उस्तै हो तर लक्षणहरु अलि सिरियस, जटिल लक्षणहरु देखिराखेको छन् । मान्छेहरु बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नुपर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने विरामीहरुको संख्या ह्वात्तै बढेको छ । त्यसको मतलब संक्रमण भएकाहरुमा जटिल क्षणहरू धेरै देखिएको छ । जहाँ जटिल लक्षण धेरै देखिन्छ त्यहाँ अस्पतालमा धेरै भर्ना गर्नुपर्ने हुन्छ र जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा मृत्यु पनि धेरै हुने सम्भावना हुन्छ ।’

भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९ सय ६८ पुगेको हो । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ६० हजार ५ सय ४२ पुगेको अधिकारीहरुको भनाई छ ।

यही हप्ता दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी पुगेको शुक्रबार चौथो पटक हो । यसअघि गत सोमबार एक लाख तीन हजार ५ सय ५८ जना सङ्क्रमित भएका थिए भने बुधबार एक लाख १५ हजार ७ सय ३६ जना सङ्क्रमित भएका थिए ।

त्यसैगरी बिहीबार एक लाख २६ हजार ७ सय ८९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा पछिल्लो २४ घण्टामा ७ सय ८० जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या एक लाख ६७ हजार ६ सय ४२ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेपनि नौ लाख ७९ हजार ६ सय ८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल एक करोड १९ लाख १३ हजार २ सय ९२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।