आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कोरोनाबारे ठट्टामै छन् प्रधानमन्त्री ओली : पहिले नाकमा बस्ने हो कोरोना,त्यहीँबाट फालिदिएपछि चैट!

गोकर्णेश्वर खबर२६ चैत्र २०७७, बिहीबार २१:३१ मा प्रकाशित (२ साल अघि) ३७० पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरे।

उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपाय अपनाउनुपर्ने बताए।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए।

उनले भने, ‘कोभिड–१९ को सन्दर्भमा म भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी कोभिड–१९ लाई अवसर नदिऔं। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए।

कोभिड–१९ विरूद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबभन्दा सुरक्षित विधि रहेको बताए।

उनले भने,‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट, नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गालगुल गरिदिऊँ, घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड परसेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही परसेन्ट सुरक्षित गर्ने हो केही परसेन्ट बाँकी रहन्छ त्यही केही परसेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताए।

उनले भने, ‘कतिपयले भन्छन् मलाई, भनिआएका छन्। आफ्नो कुरा गर्नु नि भनेर। आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ। अनि तपाईंहरूसँग आएर मैले राजनीतिको के भन्ने सङ्गठनात्मक कुरा बताउने कि, राजनीतिका दाउपेचका छन् नि हामी यहाँ छौं वाला कुरा बताउने कि ? के बताउने, तपाईंहरूलाई लड्डु खान सिकाउने कि ? राजनीति के चाहिँ गर्ने, तपाईंहरूसँग त विजनेसका कुरा गर्नुपरेन, व्यापारका कुरा गर्नुपरेन, उद्योग व्यवसायका कुरा गर्नुपरेन, त्यही कुरा गर्नुपर्छ। अब कोभिड १९ छ कोभिड १९ को बारेमा कुरै नगर्ने कसरी हुन्छ ? कोभिड–१९ ले देश आक्रामक छ। भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ। निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नु परेन। प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ।’