आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गगनलाई महेश बस्नेतको जवाफ-‘बोकाको शैलीले दाईं गरिँदैन,दाईं गर्न गोरुकै शैली चाहिन्छ’

गोकर्णेश्वर खबर२६ चैत्र २०७७, बिहीबार २१:१७ मा प्रकाशित (२ साल अघि) ४७४ पाठक संख्या

काठमाडौं । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका थिए ।

कांग्रेस सांसद थापालाई जवाफ फर्काउँदै एमाले सांसद बस्नेतले अहिले रहेको सांसदको संख्या देखाएका हुन् ।

‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’

संसदको यही संख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले नै प्रतिनिधित्व गर्ने बताए ।

‘आज संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरूलाई हामीले सके सहयोग गरौं नसके बस्तुनिष्ट ढङ्गले त्यसको विरोध गरौं’, नेता बस्नेतले भने ।

गत निर्वाचनमा नेकपा एमालेले १२१ सिट जितेको थियो । एमालेले प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकतर्फ ४१ सिट हो ।

कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो । नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट जितेको थियो । संसदमा हाल जनता समाजवादी पार्टीको एकीकरणपछि अहिले ३४ सांसद छन् ।