आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

रुकुम पुगेर प्रचण्डले भने-‘मलाई बम हान्नेहरुलाई मैले मन्त्री बनाए,मैले गल्ती गरेँ,आत्म आलोचना गर्छु’

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २२:५५ मा प्रकाशित (३ साल अघि) ३९९ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्म आलोचना गरेका छन् ।

मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहहरुले महत्व पाएको स्वीकार गरे ।

एमाले प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले अघि भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ ।’

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नती गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साझा सिधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली पटाहबाट हेडक्र्वाटर घेरिए जस्तो भयो ।’

यद्यपि आफूले कहिल्यै देश र जताको हितमा दायाँबायाँ नगरेको उनले दाबी छ । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमान्दारिताका साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिवद्धतासमेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’