आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लक्ष्मीको ह्याट्रिकसँगै सुदूरपश्चिमले प्रदेश १ लाई ४० रनले हरायो

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २२:३८ मा प्रकाशित (२ साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ४० रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले १८ ओभर ५ बलमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो । प्रदेश–१ का लागि रुबिना क्षेत्रीले सर्वाधिक २७ रन जोडिन् । अप्सरी बेगमले २२ रन जोड्दा संगीता राईले १३ रन बनाइन् ।

बलिङतर्फ सुदूरपश्चिमका लागि स्पिनर लक्ष्मी साउँदले ह्याट्रिकसहित ४ विकेट लिएकी थिइन् । उनले १८ औं ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिइन् । त्यस्तै कविता कुँवर र कविता जोशीले २–२ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि बिन्दु रावलले अर्धशतकीय पारी खेलिन् । उनले ५२ रन बनाइन् । त्यस्तै रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन जोडिन् ।

बलिङतर्फ प्रदेश–१ की शबनम राईले २ विकेट लिइन् । ज्योति दनुवारले १ विकेट लिइन् ।

आजको खेलमा जित निकालेसँगै सुदूरपश्चिम प्रदेशले फाइलन प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।
सुदूरपश्चिमले ३ खेलकाट ४ अंक जोडेको छ । प्रदेश १ ले ३ खेलबाट २ अंक जोडेको छ । सुदूरपश्चिमले अब फाइनलमा स्थान बनाउन भोली (बुधबार) हुने लुम्बिनी प्रदेशसँगको खेलमा जित निकाल्नुपर्ने हुन्छ ।