FLASH NEWS
आज: ७ बैशाख २०७८, मंगलवार | Tue, 20, Apr, 2021

अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेशमा नेपाल–खनाल पक्षको समानान्तर कमिटी

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २२:१२ मा प्रकाशित (२ हफ्ता अघि) ५७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशमा समानान्तर समिति बनाएको छ।

मंगलबार काठमाडौँमा बसेको नेपाल–खनाल पक्षको बागमती प्रदेश कमिटीको बैठकले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर प्रदेश समिति घोषणा गरेको हो।

समितिको सहसंयोजकमा केदार न्यौपाने, अरुण नेपाल र पशुपति चौलागाई रहेका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बैठक राखेर केन्द्रीय सदस्य थप गर्ने, महाधिवेशन घोषणा गर्ने लगायतका निर्णय गरेपछि नेपाल–खनाल पक्ष असन्तुष्ट रहँदै आएको थियो। पछि ओलीले पार्टी र नेतृत्व विरोधी गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेपछि नेपाल–खनाल पक्षले ओलीले पार्टी फुटाउन थालेको निष्कर्ष निकाल्दै देशभर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो।

शनिबार नेपाल खनाल पक्षले ‘पार्टी एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ दुई महिने संगठन बिस्तार र सुदृढीकरण अभियान घोषणा गरेको थियो।

नेपाल खनाल पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला, काठमाडौँ र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ।