आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपा तयार छ : डा. भट्टराई

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २१:३३ मा प्रकाशित (३ साल अघि) ७८९ पाठक संख्या

गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै बहिर्गमन गर्ने बताएका छन् ।

मंगलबार गृह जिल्ला गोरखा आएका उनले पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टी तयार रहेको बताए ।

‘लोकतन्त्रमाथि जहाँबाट खतरा छ त्यो हटाउनुपर्छ, त्यसैले प्रधानमन्त्रीको बहिर्गमन पहिलो शर्त हो, त्यसका लागि हाम्रो पार्टी जे गर्न पनि तयार छ,’ उनले भने ।

प्रधानमन्त्रीले राजीनामा दिने संकेत नभएका कारण हटाउनका लागि अविश्वासको प्रस्ताव ल्याउनुको विकल्प नभएको भट्टराईको भनाइ छ । ‘ओलीले राजीनामा गर्नुहुन्छ भन्ने अपेक्षा गर्न सकिन्न, नैतिकता नभएको मान्छेसँग त्यो आशा गर्नु मुर्खता हो, उहाँलाई हटाउने भनेको अविश्वासको प्रस्ताव ल्याउनु नै हो,’ उनले भने ।

अविश्वासको प्रस्ताव ल्याउदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको उमेदवार पनि दिनुपर्ने भएकाले केही अन्योलता भएको भट्टराईले बताए । कांग्रेस, नेकपा माओवादी, जसपा र एमालेमा ओलीसँग असन्तुष्ट रहेका पक्षहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उनले जानकारी दिए ।

वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार जो पनि हुन सक्ने धारणा उनले व्यक्त गरे ।