आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जोरपाटीमा स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्था उद्घाटन

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार ०७:५३ मा प्रकाशित (२ साल अघि) ८२१ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटिमा स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन भएको छ । सोमबार सहकारीको उद्द्धाटन नगरप्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपालले गर्नु भयो ।


सहकारी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले सबै महिलाहरुको व्यवस्थापनमा सञ्चालन हुने सहकारी समाजकालागी प्रेरणाको स्रोत रहेको बताउनु भयो । उहाँले महिला सशक्तिकरणका लागि नगरपालिकाले प्राथमिकता दिएकोमा जोड दिनु हुँदै स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्थासँग पनि सहकार्य गर्ने बताउनु भयो । नगरपालिकाका उपप्रमुख शान्ति नेपालले महिलाहरु कमजोर नभए पनि सामाजिक विभेदका कारण महिलाहरुले आफूलाई कमजोर नठानी स्वावलम्बी हुनु पर्ने प्रेरणा स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्थाबाट लिनु पर्ने बताउनु हुँदै महिलाको विकास विनाको समाज विकासको परिकल्पना हुन नसक्ने बताउनु भयो ।


सहकारी उद्घाटन कार्यक्रममा नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसे, विशेष अतिथी एवम् नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल महिला संघ काठमाडौंका सभापति विष्णुदेवी पुडासैनी, नगर कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दुर्गा बराल, युवा समाजसेवी राजु सुनार, स्थानीय समाजसेवी लगायत महिलाहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रम स्वावलम्बी महिला बचत तथा ऋण सहकारीका अध्यक्ष शारदा सुवेदीको सभापतित्वमा भएको थियो । अध्यक्ष सुवेदीले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि सहकारी स्थापना गरिएको बताउनु भयो । उहाँले स–सानो रकम जम्मा गरेर महिलाहरुलाई व्यवसायिक कार्यमा अगाडी बढाएर समाजमा उदाहरणीय कार्य गर्ने उदेश्यका साथ सहकारी स्थापना गरिएकोले आपसी सहकार्यका लागि महिला तथा स्थानीय निकाय र सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।