आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रधानमन्त्रीको राजीनामा माग्दै नयाँ सरकार गठनमा जुटेका कांग्रेस र माओवादी परे अलमलमा

गोकर्णेश्वर खबर२३ चैत्र २०७७, सोमबार २०:३५ मा प्रकाशित (३ साल अघि) ४२४ पाठक संख्या

ठमाडौं । प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै आफैंले सरकार निर्माणको पहल थाल्ने घोषणा गरेको कांग्रेसले सरकार निर्माणका लागि ठोस कदम चाल्न सकेको छैन ।

सरकारको नेतृत्व लिन कांग्रेसलाई आग्रह गरेको माओवादी पनि नयाँ सरकार गठनका लागि अलमलमा देखिएको छ । प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् ।

तर ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा अझै देखिएका छैनन् । जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् ।

जसपासँग सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । तर जसपाले साथ दिने संकेत नदेखाएपछि माओवादी केन्द्र अलमलमा परेको छ । यही अलमलका कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या सुनिश्चितता नहुँदा कांग्रेस पनि अलमलमा देखिएको छ ।