आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

वामपन्थी नेता मानन्धरको निधन

गोकर्णेश्वर खबर१६ चैत्र २०७७, सोमबार २३:०२ मा प्रकाशित (३ साल अघि) ७६१ पाठक संख्या

काठमाडौँ – पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ ।

विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८ः२० मा निधन भएको उनका ज्वाई डा नारायण श्रेष्ठले जानकारी दिए ।

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए ।

नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ ।

विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिए पनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए ।

नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएको उनलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ ।

संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त)सम्मको स्थापनामा महत्वपूर्ण योगदान गरेका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गरे ।

पूर्वमन्त्री गणेश शाहका शब्दमा नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरु सबै विषय गौण हुन’ भन्ने मान्यता राख्थे ।

उनका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता छ्न् । यस्तै, उनका तीन छोरी छन् । दिवङ्गत नेता मानन्धरको मङ्गलबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने ज्वाई श्रेष्ठले जानकारी दिए । (रासस)