आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

अलबिदा नविन्द्रराज जोशी

गोकर्णेश्वर खबर१४ चैत्र २०७७, शनिबार १८:५७ मा प्रकाशित (३ साल अघि) ४७९ पाठक संख्या

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली दिनका लागि राखिएको छ । मस्तिष्कघात भइ एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका थिए । जोशीको आजै अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
नेता जोशीलाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा,अर्जुननरसिंह केसी,मिनेन्द्र रिजाल,प्रकाशशरण महत,गगन थापालगायतका नेताहरु सानेपा पुगेका थिए । यस्तै,अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल,एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ,माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,एमाले नेता माधवकुमार नेपाल,एमाले नेता रघुजीपन्त लगायतका नेताहरुले जोशीलाई श्रद्धाञ्जली दिएका थिए ।
यस्तै, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नेविसंघका पूर्वमहामन्त्री, काठमाडौंमा पूर्वउपमेयर, संविधानसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको मर्माहत र स्तब्ध भएको कांग्रेसले जनाएको छ ।
त्यस्तै जोशीप्रति सम्मान प्रकट गर्दै चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् । त्यस्तै चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि कांग्रेसले निर्णय गरेको छ । जोशीको १३ औँ दिनको पुण्यतिथिमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गरिने पनि कांग्रेसले जनाएको छ।  कान्तिपुर