आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

विजय गच्छदारजी हाम्रो पार्टीको ठूलो नेता हो, उहाँमाथि अन्याय भएको छ : देउवा

गोकर्णेश्वर खबर१० चैत्र २०७७, मंगलवार २१:५५ मा प्रकाशित (३ साल अघि) ३०२ पाठक संख्या

विराटनगर – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ललिता निवास जग्गा प्रकरणमा मुद्धा खेपिरहेको पूर्वमन्त्री विजयकुमार गच्छदारमाथि अन्याय भएको बताएका छन् ।

मंगलबार सुनसरीको धरान पुगेका देउवाले कांग्रेस उपसभापतिसमेत रहेका गच्छदारको पक्षमा सार्वजनिक मञ्चबाट बोलेका हुन् । सुनसरी गच्छदारको गृह जिल्ला हो ।

५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलनको दिवसको अवसरमा आयोजित प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा देउवाले भने, ‘विजय गच्छदारजी हाम्रो पार्टीको ठूलो नेता हो, उहाँमाथि अन्याय भएको छ ।’

‘हामी सबै उहाँको पक्षमा छौं, मलाई विश्वास छ । उहाँले न्याय पाउनुहुनेछ’ उनले अघि भने ।

सभापति देउवाले कर्मचारी र प्रहरीले कांग्रेसका कार्यकर्तालाई दःख दिइरहेको समेत आरोप लगाए । ‘उनीहरु जनताले तिरेको करबाट तलब खान्छन्,’ देउवाले भने, ‘कुनै पार्टीले दिएको तलब खाएको होइन, जनताले तिरेको करबाट तलब खाने अनि पार्टीको काम गर्ने ? हामी कुनै हालतमा सहँदैनौं ।’

देउवाले कांग्रेस सरकारमा जाने हतारोमा नरहेको बताए । आफूहरुले चाहेर मात्र केही नहुने भन्दै उनले कांग्रेस विपक्षी पार्टी भएकाले जनताको घरमा जाने बताए ।