आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बौद्धनाथ स्तुपा क्षेत्रमा टिकटक भिडियो खिच्न प्रतिबन्ध

गोकर्णेश्वर खबर१० चैत्र २०७७, मंगलवार २०:१५ मा प्रकाशित (३ साल अघि) ४७९ पाठक संख्या

काठमाडौं – पर्यटकीय तथा धार्मिक महत्वका स्थलहरुमा टिकटक भिडियो खिच्नेहरुको भीड बढिरहँदा यसले पर्यटक र श्रद्धालुलाई असहज बनाउन थालेपछि टिकटकरहरुमाथि कडाइ गर्न थालिएको छ । यही क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा क्षेत्रमा टिकटक भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ । बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि बौद्धनाथ क्षेत्र भित्र टिकटक खिच्न प्रतिबन्ध लगाएको हो ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाका अनुसार बौद्धनाथमा टिकटक बनाउनेको भीड हुन थालेपछि त्यसले स्तुपा परिसरमा आउने पर्यटक र श्रद्धालुहरुलाई समस्या भएकोले टिकटकरहरुमाथि कडाइ गरिएको हो । ‘यो धार्मिक स्थल हो र यहाँ बिहान बेलुकी बालबालिकादेखि वृद्धवृद्धाहरु आउनुहुन्छ, कोही ध्यान गर्न आउनुहुन्छ । त्यही समयमा टिकटक खिच्दा समस्या भएकोले प्रतिबन्ध लगाएका हौं’ उनले भने ।

लामाका अनुसार बौद्धनाथ परिसरमा टिकटकरहरुको जानकारीको लागि चेतावनीमूलक बोर्ड राखिएको छ । बोर्डमा ‘यस विश्व सम्पदा क्षेत्रभित्र टिकटक खिच्न मनाही छ, अन्यथा नेपाल सरकारको नियम अनुसार कारवाही हुनेछ’ लेखिएको छ । यस्ता बोर्ड ४ ठाउँमा राखिएको छ । निर्देशक लामाका अनुसार कोरोना महामारी सुरु हुनुअघि दैनिक विदेशी पर्यटक मात्रै महिनामा ४ देखि ५ हजार आउँथे । महामारीमा विदेशी पर्यटक आवागमन बन्द भएकोमा अहिले दैनिक तीसदेखि चालिस जना विदेशी पर्यटक आउँछन् ।