आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

शीतलनिवासको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस नेता पौडेलबीच घोचपेच

गोकर्णेश्वर खबर३ चैत्र २०७७, मंगलवार २०:१७ मा प्रकाशित (३ साल अघि) ३९८ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा भएको सर्वदलीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच चलेको छ ।

प्रधानमन्त्रीले फेरि पनि ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै पुनःस्थापित प्रतिनिधिसभाले शुरुकै दिनदेखि काम गर्न नसक्ने संकेत देखिइसकेको बताएपछि पौडेलले प्रतिवाद गरेका थिए ।

पौडेलले संसद सुचारु गर्नेबाहेक अरु विकल्प नरहेको भन्दै यस्तो पहल राष्ट्रपतिले पहिले नै लिनुपर्ने बताएका थिए । अहिले प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको पौडेलको भनाइ थियो ।

बैठकमा शीर्ष नेताहरूलाई स्वागत गर्दै राष्ट्रपतिले मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– राष्ट्रपतिज्यूले हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहीआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ भन्नुभयो ।

नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा राष्ट्रपतिले मित्रराष्ट्र बंगलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी गराइएको थियो ।

नेताहरुले राष्ट्रपतिलाई बंगलादेश भ्रमणको सफलताको शुभकामना दिएका थिए ।