आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक

गोकर्णेश्वर खबर२७ फाल्गुन २०७७, बिहीबार २२:५९ मा प्रकाशित (३ साल अघि) ९३१ पाठक संख्या

काठमाडौं – चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सनले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना हुन् ।

यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर लगायतका कलाकारको अभिनय छ ।

पैसा र शक्तिको भिडन्तलाई चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलरमा अनुप विक्रम शाहीलाई खलनायकको रुपमा देखाइएको छ । यूरोपका ४ देश, अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको चलचित्रको बजेट ३ करोड माथि रहेको बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बख्रेल, सन्तोष चन्द्र बख्रेलको लगानी छ । निर्देशक मुकुन्द भट्टले चलचित्र निर्माण गर्न निकै नै गाह्रो भएको बताउँदै कोभिडपछि आफूहरु जोखिम मोल्न तयार भएको बताए । चलचित्रले दर्शकलाई हलसम्म तान्ने अपेक्षा उनको थियो ।

कार्यक्रममा नायक भूवन केसी, निर्देशक निश्चल बस्नेत, कलाकार प्रशान्त ताम्राकारले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए ।