आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रथम चक्र लामा/किसन लामा स्मृति स्नुकरको उपाधि रेगन श्रेष्ठ

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७७, आईतवार ०८:२५ मा प्रकाशित (३ साल अघि) ५५४ पाठक संख्या

काठमाडौं, फागुन २३ ।
अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ (अंकितमान श्रेष्ठ) ले प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।


बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८–६ ले पराजित गरे । रेगनले खेल ९१–३४,२६–९५, ३३–७३, ८०–४२, ६७–४२, २९–९३, ८०–२९, ७१–४५, २–१२१, ६३–३२, ९०–४२, २४–८९, ७–१३० र ८०–२९ ले जिते । उपाधिसंगै रेगनले २ लाख ११ हजार ५ सय नगद पुरस्कार जिते । सोमले ९१ हजार ५ नगदमा चित्त बुझाए । सेमिफाइनलमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय नगद पुरस्कार हात पारे ।
त्यस्तै क्वाटरफाइनलमा पराजितले जनही १० हजार ५ सय नगद पुरस्कार पाए भने प्रिक्वाटरफाइनलमा पराजितले गिफ्ट ह्याम्पर वापत क्यु एन्ड क्यु बक्स हात पारे ।


बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीको संयुक्त आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए । ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए । चारै समान ११ हजार ५ सय–११ हजार ५ सय नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने । सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो । कुनैपनि खेलाडीले उक्त उपलब्धी हासिल गर्न सकेनन् । नेपाली स्नुकरको इतिहासमै यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष समेत रहेका स्नुकरका चारपटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, प्रतियोगिता संयोजक राजेन लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
माघ २४ गतेदेखि सुरु प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी थिए । खेलाडी सहभागिताका आधारमा पनि यो प्रतियोगिता ठूलो हो ।