आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

मोतिपुर औद्योगिक क्षेत्र अगाडि बढाउन स्थानीयसँग सात बुँदे सहमति

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार २२:०२ मा प्रकाशित (३ साल अघि) ५७९ पाठक संख्या

बुटवल – रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरलाई निर्वाध रुपमा अगाडि बढाउन प्रभावित भनिएका स्थानीय र औद्योगिक व्यवस्थापन लिमिटेडबीच सहमति भएको छ।

औद्योगिक करिडोर प्रभावित क्षेत्रका बासिन्दा र औद्योगिक क्षेत्रबीच शनिबार छलफलपछि उक्त सहमति भएको हो। यसअघि औद्योगिक क्षेत्रका कारण प्रभावित भनिएका व्यक्तिहरूको अवरोधका बीच औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो।

मौतिपुर औद्योगिक कोरिडोर निर्माणका क्रममा आफ्नो बसोवास समाप्त हुने अवस्थामा पुगेका बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगञ्जका २३ सय घरधुरीका प्रतिनिधि र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका बीच सात बुँदे सहमति भएको हो।

स्थानीयको तर्फबाट नमुनाटोल बिकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका तर्फबाट अध्यक्ष बस्नेतले हस्ताक्षर गरेका छन्। उक्त सहमति मोतिपुर औद्योगिक क्षेत्रबाट प्रभावित भनिएको बुटवल उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष सन्तबहादुर रानाको रोहवरमा गरिएको छ।

सम्झौतामा मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यको स्वागत गर्दै जग्गाको नापजाँच र यकिन तथ्यांक तयार गरी निर्माण कार्य अगाडि बढाउने उल्लेख गरिएको छ।

त्यसैगरी, शिलान्यासका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा कोरिडोर निर्माणमा कसैले अवरोध गर्न खोजे त्यसको प्रतिवाद गर्ने उल्लेख गरिएको छ।

यसका साथै औद्योगिक करिडोर निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रुप दिन सार्वजनिक सुनुवाई गर्ने र त्यसका लागि स्थानीयले सहयोग गर्ने सहमति भएको उल्लेख गरिएको छ।

त्यसैगरी, सहमति पत्रमा बुटवल उपमहानगरपालिका अन्तर्गत साविक मोतिपुर गाविसको सेक्टर बी अन्तर्गतको कित्ता नम्बर ४७ र ४८ लाई अलग राखी डिपिआर गरिएको र त्यसको यथोचित व्यवस्थापन गरी काम अगाडि बढाउने उल्लेख गरिएको छ।

प्रभावितहरूको तर्फबाट टोल विकास संस्थाका अध्यक्ष बुढाथोकीले गरेको सहमति पत्रमा वडा नम्बर १७ का वडाअध्यक्ष रानासँगै २३ सय घरधरीको तर्फबाट १० वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा पाँच वटा सेक्टरका अध्यक्षहरूले सहमति जनाएका छन्।

सहमतिपछि बोल्दै टोल विकास संस्थाका अध्यक्षहरूले शुक्रबार भएको घटनामा आफूहरूलाई गलत ढंगले प्रयोग गर्न खोजिएको र सरोकार नै नभएका सियारी र सुद्धोधनका केही व्यक्तिहरू आएर घटना घटाउन सहयोग गरेको दाबी गरेका छन्।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्र शिलान्यास गरेपछि केही स्थानीयले शिलान्यास गरेको ठाउँ भत्काएका थिए।