आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मेयर कप क्रिकेटमा वाग्मतीलाई दुई रनले हराउँदै पुलिस विजयी

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार २०:४६ मा प्रकाशित (३ साल अघि) ५७५ पाठक संख्या

काठमाडौँ– काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी भएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पुलिसले वाग्मती प्रदेश टोलीलाई पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गर्दै पुलिसले निर्धारित ५० ओभरको खेलमा २५ दशमलव दुई ओभरमा सबै विकेटको क्षतिमा मात्र ७२ रन बनायो ।

त्रिहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा वाग्मतीले सवै विकेटको क्षतिमा २७ दशमलव दुई ओभरमा ७० रन बनाउन सक्यो । पुलिसका लागि मञ्जित श्रेष्ठले १५ तथा सुनिल धमला, अनिल साह र दिलीप नाथले १०,१० रन बनाए ।

बलिङतर्फ वाग्मती प्रदेशका अरियो पौडेलले चार, नन्दन यादवले तीन र सोनु देवकोटाले एक विकेट लिए ।

त्रिहत्तर रनको विजयी लक्ष्य पछ्याउने क्रममा वाग्मती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले १० रन बनाए ।

बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले चार, ललित राजवंशीले तीन, सागर ढकालले दुई तथा राशिद खानले एक विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच चार विकेट लिनुभएका पुलिसका दीपेन्द्रसिंह ऐरी घोषित भए ।

मेयर कप सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई रु ५० लाख उपलब्ध गराएको छ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।