आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सहरी विकासमन्त्री साहको निर्देशनमा किसानको गहुँखेतीमा चलाइयो डोजर

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार २०:५६ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

जनकपुर – रौतहटको मौलापुर नगरपालिका वडा ५ मा महाशिवरात्रिको मेला आयोजन गर्नका लागि किसानहरूले लगाएका गहुँ बाली नष्ट गरिएको छ।

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाइएको हो।

फागुन २७ गते मनाइने महाशिवरात्रीको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब तीन बिगाहा जमिनमा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो। मन्त्रीको निर्देशनमा नगरपालिकाले गहुँखेतीमा डोजर चलाएको हो।

मेलाको आयोजक मौलापुर नगरपालिका नै रहेको छ। ‘मेला आयोजना गर्ने मिति पहिले नै तय भए पनि निर्धारित ठाउँमा मेलाको आयोजना नगरी बाली लगाइएको स्थानमा समितिले मेला लगाएको बाली नष्ट गर्‍यो,’ मौलापुर नगरपालिका वडा नम्बर ५ का एक कृष्ण साहले भने, ‘यसअघि तय भएको स्थानमा समेत हाम्रो खेत थियो। तर, त्यहीँ मेला आयोजन हुने निर्णय भएपछि हामीले त्यहाँको करिब सात कट्ठा जग्गा पर्ति नै राख्यौं र यहाँको चार कट्ठा खेतमा बाली लगाएका थियौं।

पीडित किसान उनको अनुसार ती गहुँ पाक्नै लागेको थियो। ‘अबको करिब १० देखि १५ दिनमा काट्ने थियौं, तर अन्तिम समयमा आएर समितिले हाम्रो मेहनतलाई खरानी बनाइदियो,’ उनले भने।

चार कट्ठा खेतमा लगाएको बालीमा १० देखि १५ हजार खर्च भए पनि आयोजकले क्षतिपूर्तिको नाममा पाँच हजार रुपैयाँ थमाइदिएको उनले गुनासो गरे।

‘हामीले सुरूमा बाला लागिसकेको बाली नकाट्नु, बरु पहिले जुन स्थान मेलाको आयोजन हुने बाला थियो, त्यहीँ गएर मेला लगाउनु भनेका थियौं,’ उनले भने, ‘उहाँहरूले मान्नु भएन।’

‘मन्त्रीजीले घरमा आएर भन्नुभएको थियो, महाशिवरात्रीमा मेला लाग्छ, उक्त स्थानमा भएका खेतहरूमा बाली नलगाउनु होला,’ पीडित महिला किसानले भनिन्, ‘त्यसैले, हामीले उक्त ठाउँमा बाली लगाएनौं। तर, जहाँ बाली लगाएनौं, त्यहाँ मेला लगाइएन र बाली लगाएको ठाउँमा आएर मेला लगाएर हाम्रो मेहनत र पैसा दुबै डुबाइदिए।’

उनी जस्तै ४५ जना किसानको बाली नष्ट गरिएको छ।

मौलापुर नगरपालिकामा नगरप्रमुख भने मन्त्री साहकै पत्नी रिनादेवी साह राहेकी छिन्।

साहले पहिले पनि त्यहाँ शिवरात्री मेला लगाइएको र क्षतिपूर्ति दिने सर्तमा गहुँबालीमा डोजर चलाइएको बताइन्। ‘बाली नष्ट भएकोमा क्षतिपूर्ति दिने भनेका छौं, दिइरहेका पनि छौं,’ उनले भनिन्।