आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

हामी गर्छौं महिला समुहले फागुन २४ गते गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम आयोजना गर्ने

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार १७:०९ मा प्रकाशित (३ साल अघि) ११५४ पाठक संख्या

१८ फागुन, काठमाडौं । हामी गर्छौं महिला समुहले गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते विभिन्न जातजातिका महिलाहरुले आ–आफ्ना समुदायका गीत, नृत्य जस्ता साँस्कृतिक प्रस्तुति दिनेछन् ।
कार्यक्रम फागुन २४ गते ११ बजेबाट गोकर्णेश्वर नगरपालिका वडा नं. ७ दक्षिणढोका चोकमा रहेको शान्ति वाटिकामा आयोजना हुनेछ ।

गोकर्णेश्वर नगरपालिकाका महिला तथा महिला समुहहरुलाई समेटेर कार्यक्रम आयोजना गरिने हामी गर्छौं महिला समुकाका अध्यक्ष शोभा दाहालले बताउनु भयो । अध्यक्ष दाहालका अनुसार विभिन्न जातजातिका महिला दिदिबहिनीहरुले आ–आफ्नो संस्कृति, भेषभुषा अनुसार नृत्य, लोकदोहोरी, एकल गायन लगायतका विधामा विभिन्न प्रस्तुतिहरु दिनेछन् । कार्यक्रमस्थलमा विभिन्न जातजातिका खानाका मौलिक परिकारहरुको स्टल समेत रहने छ ।


२०७२ सालमा स्थापना भएको समुहले महिलाहरुलाई सशक्तिकरण तथा क्षमता अभिवृद्धिका लागि सीपमुलक तालिम प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म ३०० भन्दा बढी महिला–पुरुषहरुलाई सिलाई कटाई सम्वन्धि तालिम दिईसकेको छ । कमजोर आर्थिक अवस्था भएका विपन्न वर्गका महिला–पुरुषहरुका लागि निःशुल्क तालिम दिई मेशिन र कपडा समेत सहयोग गर्दै आएको अध्यक्ष दाहालले बताउनु भयो ।
संस्थाले महिलाहरुलाई बेसिक तालिम, एडभान्स तालिम र बुटिक कक्षा गरी तीनै किसिमका तालिमहरु प्रदान गर्दै आएको छ । संस्थाको सेवा सुविधाबाट गोकर्णेश्वरका मात्र नभई कागेश्वरी मनोहरा र शंकरापुरका महिला–पुरुषहरुले पनि लाभान्वित भएका अध्यक्ष दाहालले बताउनु भयो ।