आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानमन्त्री ओलीको देश दौडाहाः आज पनि झापा र मोरङका कार्यक्रममा जाँदै

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार ०८:२९ मा प्रकाशित (३ साल अघि) ५५४ पाठक संख्या

काठमाडौँ- प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहा निस्किएका छन् ।
विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त भएका हुन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए ।
पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले पोखरामा पनि विभन्न विकास निर्माणको कामको निरीक्षण तथा शिलान्यास गरेका थिए ।
दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका ओली आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् ।
सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
लामो समयदेखि सुकुम्बासी जीवन बिताइरहेको सन्थाल समुदायका लागि उर्लाबारीमा १३६ परीवारलाई लक्षित गरी एकीकृत बस्ती तयार गरिने भएको छ ।
बस्ती ३० करोड रुपैयाँको लगानीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माणपछि उनीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।
उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने छन् ।