आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार १४:२४ मा प्रकाशित (३ साल अघि) ४२६ पाठक संख्या

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।
भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराइरहेका भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले जानकारी दिएका हुन्‌ ।
वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको जानकारी उनका सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्‌ ।
देखिएको ट्युमरलाई भने केही महीनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्‌ । बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुन सक्ने चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका हुन्‌।
उनले प्रोफेसर डाक्टर विक्रम भाटियासँग परामर्श लिएका थिए । अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्कनेछन्‌ ।