आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

म्यानमारमा प्रदर्शनकारी माथी प्रहरीले फेरि चलायो गोली: मृत्यु हुनेको संख्या १८ पुग्यो

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २३:४५ मा प्रकाशित (३ साल अघि) ६४५ पाठक संख्या

एजेन्सी – सैनिक कू विरुद्ध आन्दोलनमा रहेका म्यान्माली जनतामाथि सैनिक र प्रहरी दमन तिव्र बनेको छ । दैनिक जनता सडक संघर्षमा उत्रिन थालेपछि सेनाले आन्दोलन रोक्न दमन बढाएको छ ।

स्थानीय मिडिया रिपोर्टअनुसार आइतबार साँझसम्म प्रहरीको गोली लागेर मृत्यु हुने आन्दोलनकारीको संख्या १८ पुगेको छ । कैयौं घाइते भएका छन् ।

साथै म्यानमारको सेनाले त्यहाँको दमन विरुद्ध यूएनमा आवाज उठाउने राजदूतलाई बर्खास्त गरेको छ । संयुक्त राष्ट्र संघमा म्यानमारको सेनाविरुद्ध आवाज उठाउने राजदूत क्वाव मो तुनलाई बर्खास्त गरिएको हो ।

उनले विश्व समुदायसँग सैनिक शासनविरुद्ध कारबाहीको माग गर्दै लोकतान्त्रिक व्यवस्थालाई तत्काल पुर्नस्थापना गर्न अनुरोध गरेका थिए ।

देशकै सर्वोच्च नेता सू ची को गिरफ्तारी र सत्ता कब्जापछि निरन्तर आन्दोलन चलिरहेको छ । नोभेम्बरमा भएको निर्वाचनमा सू चीको पार्टीले जितेको थियो । सेनाले धाँधली भएको भन्दै सत्ता कब्जा गरी नेतृ सू चीलाई गिरफ्तार गरेको हो ।

आइतबार सबैभन्दा ठूलो शहर यंगुनसहित देशका विभिन्न शहरमा आन्दोलनकारीले सेनाविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले आन्दोलन दबाउन गोली प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेको छ ।

मिडियामा देखाइएको रिपोर्ट अनुसार घाइतेलाई सहकर्मीहरुले उद्धार गरेर अस्पतालतर्फ लैजाँदै गरेको देखिएको छ ।