आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

साँखुमा ‘काकाबाट बलात्कृत’ भए भन्दै फेसबुकमा पोष्ट आएपछि..

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २३:०९ मा प्रकाशित (३ साल अघि) ८५५ पाठक संख्या

काठमाडौं – काठमाडौँको साँखु घर भएकी १८ वर्षीया किशोरीको फेसबुक पेजबाट फागुन १३ मा ‘एकाघरका पुरुषबाट आफू बलात्कृत भएको’ सन्देश पोष्ट भयो । सन्देशमा आफनै काकाले बलात्कार गरेको र सो घटना बाहिर नलान दबाब दिइएको भन्दै सहयोगको याचना गरिएको थियो । तर, सो सन्देश छोरीले नराखेको किशोरीका बाबुले बताएका छन् ।

किशोरीका बुवाले सो सन्देशले परिवार नै स्तब्ध भएको जानकारी दिँदै भने, ‘अर्कैले छोरीको नामको आइडीबाट पोष्ट गरिदिएको रहेछ ।’ सो सन्देश हटाउन र कसुरमा संलग्नलाई कारवाही गर्न पिडित परिवारले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन् । ‘साइबर ब्युरोमा उजुरी दिएका छौँ,’ किशोरीका बुवाले भने ।

करिब ९ महिनाअघि सामाजिक संजालमा चिनजान भएका एकजना केटा साथीसँग किशोरीले इन्स्टाग्राममा बुवाका बहिनीको पासवर्ड सेयर गरेकी थिइन् । ‘मुम्बई मा छु,’ भन्ने ति युवाले सो आइडीमा किशोरीको नाम राखेर गलत सन्देश पोष्ट गरेका हुन् ।

सामाजिक संजाल (फेसबुक)मा लेखिएको लामो स्ट्याटसमा भनिएको छ–‘एक वर्ष पहिले काकाले दुई पटक बलात्कार गरेका थिए ।’ बलात्कार गरेको कुरा कसैलाई नभन्न धम्की दिएको र बुवाले पनि पारिवारीक कुरा भएको हुनाले बाहिर नभन्न भनेको उल्लेख गरिएको छ ।

आरोपीले उनलाई फिनल्याण्ड लैजान खोजेको आरोप असत्य भएको परिवारले बताएका छन् । सामाजिक सञ्जालको सो पोष्टबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
‘किशोरीको नामको आइडी बनाएर गलत पोष्ट गरेको खुलेको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने–‘साइबर ब्युरोमा पीडितले उजुर गरेका छन ।’

सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेपछि आफ्नो ज्यान खतरामा रहेको उल्लेख गर्दै सो पोष्टमा आफुलाई घर बाहिर निकाल्न आग्रह गरिएको छ । सञ्जालमा प्रहरीकहाँ जाहेरी दिन आग्रह गरेर थुप्रै कमेन्ट गरिएका छन् । साइबर ब्यूरोले सो पोष्ट हटाइदिन फेसबुकलाई पत्राचारसमेत गरेको छ ।