आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयबारे सर्वोच्चले माग्यो लिखित जवाफ

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार २०:०३ मा प्रकाशित (३ साल अघि) ४५१ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ।

अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमा बुधबार न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले पशुपतिमा सुनको जलहरी किन राख्ने भन्दै कारण देखाउन समेत आदेश गरेको हो।

सर्वोच्च अदालतको वेबसाइटमा जनाइए अनुसार उक्त निर्णय गर्नुको कारण खुलाएर लिखित जवाफ माग्ने, निर्णयलाई दुवै पक्षको आदेश नहुन्जेल यथास्थितिमा राख्न र दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले बताए।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाइ छ।

१०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए। यस कार्यका निम्ति ८० करोड रुपैयाँ खर्च भएको पनि सदस्य सचिव डा। ढकालले बताए।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले बताए।

सुनको जलहरी अर्पण गर्नको निम्ति पाँच दिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पूजाआजा भइरहेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन्।