आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कार्यकर्तालाई रामचन्द्रको आग्रह-‘नेताको मूल्यांकन गर्ने हैसियत राख्नुस् देउवा-पौडेल नभन्नुस्,कांग्रेस भन्नुस् ‘

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १६:४० मा प्रकाशित (३ साल अघि) ३३९ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हिजोआज मधेशका बस्ती चहार्दै छन्।

पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म तय गरेको भोलिपल्ट मधेश झरेका पौडेल विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरू पुगेर आफ्ना कुरा राखिरहेका भेटिन्छन्।

पौडेलले आफू मधेशको सम्मानका लागि आइपुगेको बताउने गरेका छन्। कार्यकर्ताहरूसँग भेटघाटमा उनले ‘मधेश सम्मान अभियान’ अन्तर्गत आफू प्रदेश नम्बर १ र २ का विभिन्न जिल्लाका कार्यक्रमका लागि आइपुगेको बताउँछन्।

पुरानो व्यवस्थाले मधेशलाई शोषण मात्र गरेकोले आफूले मधेश सम्मान अभियान गर्नुपरेको जिकीर पौडेल गर्छन्। राणा, राजा र पञ्चायतका पालामा मधेश शोषणमा परेको तर्क उनको छ।
पौडेल फागुन ७ मा विराटनगर हुँदै धरान पुगेर विपी कोइरालाको सालिक अनावरण गरेपछि मधेशका बस्ती छिरेका थिए। त्यसयता पौडेल सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा कार्यक्रम गरिरहेका छन्।

पौडेलले मुख्यगरी प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने पक्षमा अडान राखेका छन्। महाधिवेशन नजिकिएकोले नेताको मूल्यांकन गर्न सक्ने कार्यकर्ताको खाँचो परेको पौडेलको भनाइ छ।

पौडेलले पार्टीका सभाहरूमा कुरा नचपाईं आफ्ना धारणा प्रष्ट रूपमा राख्ने गरेका छन्। मंगलबार बिहान सिरहामा आयोजित सभामा पौडेलले गुट र नेताका पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन्।

‘व्यक्तिलाई समातेर गुटमा नलागौं, कांग्रेसमा लागौं,’ पौडेलले भने, ‘साथीहरू देउवा पौडेल नभन्नुस्, कांग्रेस भन्नुस्। चुनाव आएपछि गुटमा लागेर पार्टीले एउटा उम्मेदवार दिएको छ अन्त भोट हाल्ने यस्तो नौरंगी तरिका नगरौं। सिद्धान्त र एजेन्डाले पार्टी बलियो हुन्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई पार्टीले असंवैधानिक र अलोकतान्त्रिक भनेकोले संवैधानिक र लोकतान्त्रिक बनाउन पुनर्स्थापनाका पक्षमा उभिएको बताएका छन्।

‘म जीव्रो नचपाईकन भन्छु प्रधानमन्त्रीको कदमलाई पार्टीले असंवैधानिक र अलोकतान्त्रिक भनेपछि संवैधानिक र लोकतान्त्रिक बनाउने पुनर्स्थापना नै हो। यसबारे मेरो र सभापतिजीको कुरा फरक छैन। पार्टीको लाइन एकै हो सभापतिका भनाइ फरक परेका होलान्।’

उनले चुनाव हुन्छ भन्ने विश्वास गरेर जाने हो भने धोका हुने बताए। ‘संविधान बच्यो भने चुनाव हुन्छ। खेत रहे त अर्को साल बाली राम्रो हुन्छ,’ उनले भने, ‘संविधान नै रहेन वा खेत नै बचेन भने के बाली लगाउने ? सांसद र मन्त्री बन्न कांग्रेसले २००७ सालदेखि लडाइँ गरेको होइन, संविधान तथा सिद्धान्तका लागि हो।’

उनले पार्टीका नेताहरूले दुईतीन थरिका कुरा गरेकोजस्तो देखिए पनि प्रतिनिधि सभा पुनर्स्थापना नै पार्टीको प्रष्ट लाइन भएको बताएका छन्।

पौडेलले नेकपा र जसपासँग सिद्धान्त नभएको पनि बताएका छन्।

‘कम्युनिष्टले माओवाद, जनवाद र जनताको बहुदलीय जनवाद भनेर शब्दमात्रै फेरिरहेका छन्,’ उनले भने, ‘मधेशको नारा लगाउने दल खोइ कता गए? जसपा कुनै सिद्धान्तमा छैन। धर्तीमा जरा नहालेको टुप्पोबाट पलाएका पार्टी हुन् ती।’

उनले जनताका एजेन्डा बोक्ने हो भने कांग्रेस ठूलो दल हुने पनि बताए। २०१५ सालमा जनताका एजेन्डा बोकेका बेला कांग्रेसलाई दुईतिहाइ मत आएको उनको भनाइ थियो।

‘हाम्रा एजेन्डा कम्युनिष्टले चोरेर बहुमत ल्याए,’ २०७४ सालमा भएको चुनावतर्फ संकेत गर्दै पौडेलले भने।

साथै पौडेलले गुटमा नलाग्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। नेताका पछि लाग्नेले पार्टीका आधिकारिक उम्मेदवारलाई भोट नदिएर अन्तै दिने गरेको उनको भनाइ थियो।

कार्यकर्तालाई देउवा वा पौडेलका पछि नलाग्न र आफ्नो क्षमतामा विश्वास गर्न पौडेलले आग्रह गरेका छन्।

‘जुन दिन कार्यकर्ताले नेताको मूल्यांकन गर्ने हैसियत राख्नेछन् त्यसदिन नेता सुध्रन्छन्,’उनले भने, ‘कार्यकर्तामा नेताको मूल्यांकन गर्ने हैसियत हुनुपर्छ। हैसियत राख्नुस् देउवा पौडेल नभन्नुस्, कांग्रेस भन्नुस्।’

उनले मधेश मुलुकको प्रगतिको शक्ति भएको पनि बताए। साथै सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास उनको छ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मानेनन्। सर्वोच्चले संविधानको धारा हेरेर निर्णय गरिदियोस्। सर्वोच्चले पनि संविधान मानेन भने अरू जनताले किन मान्ने। संविधान त धरापमा पर्छ,’ उनले भने।

कम्युनिष्टलाई पाँच वर्ष सरकार चलाउन दिए पनि स्वार्थका कारण र पार्टीभित्रका विवादले प्रतिनिधि सभा विघटन गरेको उनको भनाइ थियो।

‘दुईथरि कम्युनिष्ट मिलेका थिए। समृद्धिको यात्रा अगाडि बढाउलान् भनेको बाँडिचुँडी खान पो मिलेका रहेछन्। अहिले भुँडी फोराफोर गरिरहेका छन्,’ उनले भने। पौडेल बिहीबार काठमाडौं फर्कंदैछन्।