आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रचण्ड–नेपाल समूहमा असन्तुष्टि, दुई सचिवबाट जिम्मेवारी अस्वीकार

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार ०७:४४ मा प्रकाशित (३ साल अघि) २३४ पाठक संख्या

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष तथा सचिवको जिम्मेवारीमा असन्तुष्टि देखिएका छन् ।
काठमाडौंको जिल्ला समितिको सचिवको जिम्मेवारी तोकिएका हिमाल शर्माले फेसबुकमै असन्तुष्टि पोखेका छन् । उनले फेसबुकमा भनेका छन्, ‘मेरो लागि बधाई भन्ने कुरै के छ र ? केन्द्रको औपचारिक परिपत्रसम्म त धैर्य गरौ । एनीवे क. बसन्त मानन्धरप्रति मेरो सम्मान नै छ ।’
तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला समिति अध्यक्ष रहेका शर्माले दुई पार्टी एकीकरण गर्ने सन्दर्भमा सचिवको जिम्मेवारी स्वीकार गरेका थिए । उनले पुनः त्यही जिम्मेवारीमा नरहने बताएका छन् ।
‘जिल्लाको सचिवमा म रहन्न’ उनले भनेका छन्, ‘पहिले दुइटा अध्यक्ष थियौं । त्यति बेला एउटा अध्यक्ष, एउटा सचिव बस्नुपर्ने बाध्यता थियो । त्यतिबेला म बस्नै पर्ने थियो । अहिले म बस्दिनँ अरू साथीहरूलाई जिम्मेवारी दिउँ भन्ने मेरो भनाइ हो ।’
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले फागुन ७ गते गरेको सर्कुलरमा बसन्त मानन्धरलाई अध्यक्षको जिम्मेवारी तोकेको छ । मानन्धर पूर्व एमाले समूहका हुन् ।
त्यसैगरी, भोजपुरका जिल्ला सचिव विमल खड्काले पनि अध्यक्ष नपाएपछि सचिव पद अस्वीकार गर्ने घोषणा गरेका छन् । उनले फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने बताएका छन् ।
प्रचण्ड–नेपाल समूहले सोमबार सर्कुलर जारी गर्दै ६८ जिल्लाको जिम्मेवारी तोकेको थियो । जसमा पूर्वमाओवादीलाई ३५ र पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व तोकेको थियो ।