आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्रीले सर्वोच्चलाई धम्क्याएकोमा काँग्रेस नेताहरुको आपत्ति, ‘जंगे शैली लोकतान्त्रिक हुनै सक्दैन’

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार ०८:२२ मा प्रकाशित (३ साल अघि) ४४६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पुनःस्थापना हुन नसक्ने अडानसहितको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ ।

नेकपा ओली समूहको प्रदेश-१ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै संविधान विघटनको विपक्षमा अदालतको फैसला आए आन्दोलनमा उत्रने चेतावनी दिएसँगै प्रधानमन्त्रीको आलोचना हुन थालेको हो ।

प्रधानमन्त्रीको अभिव्यत्तिप्रति सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचनासहितको विचारहरु आएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु फेकबुक र टुईटरमार्फत प्रधानमन्त्रीको अभिव्यत्तिको विरोध गरेका छन् ।

राजनीतिक दलका नेता तथा आम नागरिकले पनि उहाँको अभिव्यत्तिको विरोध गर्दै आफ्नो विचार राखेका छन् । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्रीको अभिव्यत्तिको खुलेर विरोध गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा भएको बताउनु भएको छ । ‘अदालतले विना भय संविधानसम्मत निर्णय गरोस् भन्दै थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भिड नाप्ने जिम्मा जनताको हो । स्मरण रहोस् । सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला महाराजलाई पनि थियो त ।’

त्यस्तै अर्को केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीको आलोचना गर्दै ट्विट गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले विराटनगरमा अदालतका बारेमा गरेको टिप्पणी अत्यन्तै अमर्यादित र गैरजिम्मेवार भएको बताउनुभयो । ‘प्रधानमन्त्री पदमा रहेको व्यक्तिको मुखबाट यस्ता अभिव्यक्ति आउँनु दुखद हो’, उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँबाट लोकतन्त्रको रक्षा हुन सक्दैन भन्ने कुरा फेरि एकपटक प्रमाणित भएको छ ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदिय गरिमा विपरीत भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले दिएको अभिव्यत्तिको विरोधमा ट्विट गर्दै शर्माले ‘न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन’ लेख्नु भएको छ ।