आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

विप्लवलाई ओलीको प्रस्ताव: महासचिवदेखि उपप्रधानमन्त्रीसम्म,ओलीसँग एकता गर्ला विप्लव नेकपा ?

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार २०:३७ मा प्रकाशित (३ साल अघि) ६०५ पाठक संख्या

काठमाडौं – सरकारसँग अचानक वार्तामा आउन सकारात्मक भएका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपछि अर्को आश्चर्यचकित पार्ने कदमहरु चाल्ने संकेतहरु मिलेको छ । ओली सरकारले कठोर नीति लिएपनि विप्लव वार्ताका लागि तयार हुनुमा कुनै खास राजनीतिक प्रस्तावले पनि काम गरेको छ ।

विश्वस्त स्रोतका अनुसार विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएका नेपाल कम्युनिस्ट पार्टीका नेताहरुमार्फत् पार्टी महासचिवको प्रस्ताव गरिएको छ । उनी ओली समूहको नेकपासँग एकीकरण गर्न आएमा महासचिव बनाउने प्रस्ताव पुगेको हो ।

विप्लवलाई सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको समेत प्रस्ताव पुगेको छ । त्यसबारे विप्लव पक्षबाट भने कुनै जवाफ आएको छैन ।

जनयुद्ध लड्दाका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट दूरी राखेर विप्लव ओलीसँग नजिकिनुलाई चासोका साथ हेरिएको छ । विप्लव शासकीय स्वरुप समेत फेर्नुपर्ने पक्षमा छन् । ओलीको पछिल्लो भूमिका त्यसैतर्फ हुने संकेतहरु मिल्न थालेको छ ।

यसैगरी, ८ फागुनमा अकस्मात् प्रेस विज्ञप्ति जारी गरी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएर धेरैलाई आश्चर्यचकित पारेका थिए ।

विप्लव संवादका लागि सकारात्मक भएको विज्ञप्ति आउनु अघि उनी नेतृत्वको नेकपाले तीन कम्युनिस्ट घटकसँग २९ माघमा रणनैतिक मोर्चा गठन गरी घोषणा गरिसकेको छ । मोर्चामा मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुती नेतृत्वको कम्युनिस्ट पार्टी छन् ।

२० माघमा खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए । सुदर्शन भनिने ओलीसँगको भेट वार्ताको वातावरण बनाउने उद्देश्यले थियो । यो भेटले पनि वार्ताको माहोल तयार गर्न भूमिका खेल्यो ।