आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

भाञ्जाको अपहरण गरेर दिदीसँग एक करोड फिरौती माग

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार २०:२२ मा प्रकाशित (३ साल अघि) ९५४ पाठक संख्या

जनकपुरधाम – धनुषामा आफ्नै भाञ्जाको अपहरणको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो । महोत्तरीको पिपरा गाउँपालिका ७ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ कटैयाचोरी बस्ने २० बर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन् ।

चन्दनको अपहरणमा संलग्नता रहेको भन्दै प्रहरीले लक्ष्मेश्वर, अपहरित बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

शनिबार दिउँसो १ बजे घर अगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए । कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदी अर्थात चन्दनकी आमालाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए ।

घटनाबारे जानकारी पाएपछि खोजी सुरु गरेको प्रहरीले खोजतलास गर्ने क्रममा लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए ।

‘आफ्नै भाञ्जाको अपहरण गरी १ करोड माग गरेका लक्ष्मेश्वर मोलमोलाई गरेर केही रकम लिने योजनामा थिए’ प्रहरी प्रमुख रानाभाटले भने, ‘तर उनको योजना सफल भएन ।’

उनले केही रकम भएपनि पाउने हिसाबले बच्चाको अपहरण गरेको देखिएको प्रहरीको भनाइ छ । यद्यपी कपडा र फलामको व्यवसाय गर्दै आएका उनले रकम किन माग गरेको हो भन्ने कुरा खुल्न सकेको छैन ।

पक्राउ परेका लक्ष्मेश्वरविरुद्व अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनु्सन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।