आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

वागमति प्रदेश संसद स्थगित बारे कार्यविधि समितिको दोष देखाउनु निन्दनीय : छिरिङ दोर्जे लामा

गोकर्णेश्वर खबर८ फाल्गुन २०७७, शनिबार १८:०७ मा प्रकाशित (३ साल अघि) ५४० पाठक संख्या
फागुन ८ । काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता र सचेतकले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संसद स्थगित हुनुको दोष कांग्रेस र कार्यविधि मस्यौदा समितिलाई लगाउनु गलत भएको बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संसद स्थगित हुनुको दोष कांग्रेस र कार्यविधि मस्यौदा समितिलाई लगाउनु गलत भएको बताएका छन् ।
यसैगरी नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले यसअघि नै सबै दलको सहमतिमा कार्यविधि तयार भईसकेको र बुझाउन खोज्दा सभामुख श्रेष्ठले बुझ्न नमानेको बताईसकेका छन् । लामा कार्यविधि मस्यौदा समितिका संयोजक हुन् ।
सुक्रबार सो सम्वन्धमा सामाजिक सञ्जालमा आफ्ना कुरा राख्दै कार्यविधि मस्यौदा समितिका संयोजक तथा सचेतक लामाले समितिले मस्यौदा तयार गरिसकेको विषय सभामुख सानुकुमार श्रेष्ठ र सचिवालयलाई जानकारी गराईसकेको र प्रतिवेदन बुझाउनका लागि पटक पटक कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्दा वेवास्ता गरिएकोमा कार्यविधि समितिलाई दोष देखाउनु निन्दनीय भएको बताएका छन् ।
लामाले सुक्रबार फेसबुकमार्फत आफ्ना भनाईहरु सार्वजनिक गर्दै भनेका छन् –‘ बागमती प्रदेशसभा स्थगित भईरहेको विषयमा अविश्वासको प्रस्तावको मत विभाजन सम्बन्धि कार्यविधि मस्यौदा समितिलाई जोडेर सभामुख सानुकुमार श्रेष्ठले दिनु भएको अभिव्यक्ति प्रति समितिको संयोजकको हैसियतले मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।
बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिले सो समितिकै ८ जना माननीय सदस्यहरु समिति सदस्य र प्रदेशसभा सचिवालय सचिव सो समितिको सचिव रहने गरि माघ ६ गते मस्यौदा समिति गठन गरेको र सो समितिले कार्यविधि मस्यौदा तयार गरि कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश गर्ने निर्णय भएको थियो। सोहि अनुरूप समितिले मस्यौदा तयार गरिसकेको विषय सभामुख सानुकुमार श्रेष्ठ र सचिवालयलाई जानकारी गराईसकेको र सभामुख ज्यूलाई प्रतिवेदन बुझाउनका लागि पटक पटक कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गर्दा वेवास्ता गरिएकोमा कार्यविधि समितिलाई दोष देखाउनु निन्दनीय छ । सभामुख ज्यूले आज दिनको १ः०० बजे पत्रकार सम्मेलन गरी कार्यविधि तयार नभएकाले बैठक बोलाउन समस्या परेको र यसको कारक समितिलाई देखाउनु भएको जानकारीमा आएको छ ।
कार्यविधि मस्यौदा समितिको संयोजकको हैसियतले अविश्वासको प्रस्ताव सम्बन्धि दस्तखत सहितको मत विभाजन आन्तरिक कार्यविधि मस्यौदा तयार भईसकेको र सभामुख ज्यूलाई कार्यव्यवस्था परामर्श समितिको बैठक राखी प्रतिवेदन बुझाउने वातावरण तयार गर्न समितिको तर्फबाट माग समेत गर्दछु साथै कार्यविधिको कारणले अविश्वासको प्रस्ताव माथि छलफल अघि वढाउन कुनै अवरोध नहुने कुरा स्मरण गराउदै कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा बैठक बस्न नसक्नुमा समितिको कुनै पनि भूमिका नरहेको सम्बन्धित सम्पूर्णमा प्रष्ट पार्न चाहन्छु ।’