आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

प्रदेश-२ प्रमुख बर्खास्त र नियुक्तिमा कांग्रेसको आपत्ति

गोकर्णेश्वर खबर७ फाल्गुन २०७७, शुक्रबार २२:०३ मा प्रकाशित (३ साल अघि) ४४४ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसले प्रदेश नम्बर २ को प्रमुख बर्खास्त र नियुक्तिमा आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिलेसमेत अत्यन्तै गलत र आपत्तिजनक रहेको उल्लेख गरेका छन्।

‘सरकारको सिफारिसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ,’ उनले भनेका छन्।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरेका प्रदेश प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष हटाएका थिए।

‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो। आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ,’ उनले भनेका छन्।

यस्तै काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्तिजस्ता काम गर्न नमिल्ने शर्माको भनाइ छ।

‘यसप्रति कडा विरोध जनाउँदै कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ,’ उनले भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश नम्बर २ का प्रमुख तिलक परियारलाई हटाएर उक्त पदमा राजेश झालाई नियुक्त गरेकी थिइन्।