आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काँग्रेस नेता दाहालको निधन, देउवाद्वारा दुःख व्यक्त

गोकर्णेश्वर खबर७ फाल्गुन २०७७, शुक्रबार १४:०९ मा प्रकाशित (३ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ । दाहालको शुक्रबार विहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो ।

वि.सं २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर–४ मा जन्मिएका दाहाल २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । स्वर्गीय दाहालले नेपाली काँग्रेसद्वारा सञ्चालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेका थिए ।

स्वर्गीय दाहालले राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएका थिए । स्वर्गीय दाहालले नेपाली काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

अपरान्ह ३ बजे उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको  छ ।  यसैवीच काँग्रेस सभापति शेरबहादुर देउवाले नेता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।  सभापति देउवाले स्वर्गीय दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।