आज: १४ फाल्गुन २०७७, शुक्रबार | Fri, 26, Feb, 2021

प्रधानन्यायाधीशको जस्तो सवाल वकिलको त्यस्तै जवाफ: ‘यो प्रणाली ध्वस्त हुने सँघारमा छ,विकल्प श्रीमानहरूको सामु छ’

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २०:४४ मा प्रकाशित (१ हफ्ता अघि) ६२ पाठक संख्या

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दाको किनारा २०४७ सालको संविधान हेरेर लगाउने कि ७२ सालको संविधानका धारा हेरेर भन्दै एमिकस क्युरीलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्युरीका तर्फबाट राय व्यक्त गर्न आएका वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेललाई प्रधानन्यायाधीश जबराले कुन संविधानमा रहेर यो विषयलाई टुंगो लगाउनुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।

सुनुवाइका क्रममा निवेदकका कानुन व्यवसायीले २०७२ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन भनेको तर प्रतिरक्षा गर्न आएका सरकारकी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले २०४७ सालको संविधानको धारा ५३ को उपधारा ४ मा संसद् विघटन गर्ने अधिकार रहेको र अहिले पनि त्यो अधिकार साइलेन्ट रहेको बताएका थिए ।

प्रधानमन्त्रीका कानुन व्यवसायीहरूले प्रधानमन्त्रीलाई संसदीय व्यवस्थामा संसद् विघटन गर्ने विशेषाधिकार रहेको तर्क प्रस्तुत गरेका थिए । उनीहरूले त्यो कुरा संविधान नलेखिएको भए पनि व्यवस्थाअनुसार त्यो अधिकार रहेको बताएका थिए ।

एमिकस क्युरीका तर्फबाट राय व्यक्त गर्न आएका वरिष्ठ अधिवक्ता खरेललाई प्रधानन्यायाधीश जबराले सोधे, हामीले ४७ सालको संविधान सिरानी हालेर व्याख्या गर्ने कि ७२ सालको संविधानका धाराहरूलाई हेरेर व्याख्या गर्ने ?

रिट निवेदकका कानुन व्यवसायीको भनाइको सार व्यक्त गर्दै जबराले भने, एक पक्ष भन्छ अहिलेको व्यवस्था भनेको संसदीय नै हो । संसदीय व्यवस्थाको मेरुदण्ड भनेको दुई चिज हुन्छ । दुई जनाको चेक एन्ड ब्यालेन्सको कुरा र एकले अर्कोलाई दण्ड दिने व्यवस्था हुन्छ । यी बेसिक फिचर हुन्छन् । संसद्‍मा सरकार १ पटक होइन १० पटक बन्न सक्छ । त्यो प्रक्रियाले नै बनाउने हो । त्यो भएन भने विघटन हुन्छ । भंग हुने होइन । सरकार नबनेको अवस्थामा मात्रै विघटन हुने हो भन्नुहुन्छ ।

प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसको सार प्रस्तुत गर्दै उनले अगाडि भने, अर्को पक्ष भन्छ ८५ छुट्टै धारा हो । धारा ८५ मा गएर भंग भनिएको हो। भंगको व्यवस्था सिद्धान्तः संविधानमा रहेको छ । संसद् विघटन गर्ने अधिकार एक्जिक्युटिभको हो । यो ज्युडिसरी विषय होइन । संविधानले नबोलेको इन्हरेन्ट अधिकार हो । नलेखेको अधिकार स्वतः प्रधानमन्त्रीमा जान्छ भन्नुभयो ।
यी आधार राखेपछि जबराले वरिष्ठ अधिवक्त खरेललाई जिज्ञासा राखे, यस्तो अवस्थामा नयाँ व्यवस्थाको व्याख्या गर्ने कि ४७ सालको संविधान हेरेर ?

जवाफमा खरेलले सर्वोच्च अदालत कुन व्यवस्थाअनुसार गठन भएको हो भनेर सोधेका थिए । उनले विगतका पनि संविधान भएको तर अहिलेको संविधान कार्यान्वयनमा रहेको बताए । १९ साल, ४७ सालको संविधान र ०६३ सालको अन्तरिम संविधान नै पनि संविधान रहेको भन्दै उनले विगतबाट पाठ सिकेर नयाँ संविधान बनेको बताए । पछिल्ला संविधानको विगतका संविधानसँग सम्बन्ध नै हुन्न भन्न नहुने उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गर्दा उल्लेख गरिएको धारा ८५ र त्यो धारा स्वतन्त्र रहेको भन्ने कुराको पनि खरेलले अस्वीकार गरे । उनले भने, यो संविधानबमोजिम अगावै विघटन भएमा बाहेक भन्ने जुन शब्द छ भने त्यसले यो संविधान बमोजिमको विघटन जोड्नुपर्छ कि पर्दैन ? त्यस्तोमा स्पेसिफिक इन्डिकेसन देखाउनुपर्छ । त्यो इन्डिकेसन धारा ७६ बाहेक अन्यत्र छैन । ८५ इन्डिपेन्डेन्ट होइन भन्नेमा छु म ।

वरिष्ठ अधिवक्ता खरेलले संसद् पुनःस्थापना गर्नुपर्नेमा जोड दिए । उनले पुनःस्थापना नभएमा झन् अस्थिरता आउने बताए । संसद् पुनःस्थापनाले अस्थिरता ल्याउँछ भन्ने मलाई लाग्दैन ।

राजनीतिको केन्द्रमा अहिलेको पुस्ता रहेसम्म फरक नहुने तर विघटन सदर भएमा झन् अस्थिरता हुने उनको भनाइ थियो । पुस्तान्तरण भयो भने राजनीतिमा फरक अवस्था आउने उनको विश्वास थियो । संसद् पुनःस्थापनाको विकल्प छैन । होइन भने यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमानहरूको सामु छ ।