आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

ओलीले गरेका संवैधानिक परिषद्का सबै नियुक्ति अब बन्ने सरकारले खारेज गर्छ : डा. कोइराला

गोकर्णेश्वर खबर३ फाल्गुन २०७७, सोमबार २०:४६ मा प्रकाशित (३ साल अघि) १९९ पाठक संख्या

धरान – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्हरूमा गरेका असंवैधानिक नियुक्तिहरू अब बन्ने सरकारले खारेज गर्ने बताएका छन् ।

धरानमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक परिषद्का सबै नियुक्तिहरूलाई अब बन्ने सरकारले पक्कै पनि खारेज गर्नेछ ।’

संविधानले शक्ति सन्तुलनको आधारमा ६ सदस्यीय परिषद्ले मात्रै सिफारिस गर्न सक्ने व्यवस्था गरे पनि ओलीले अध्यादेश ल्याएर तीन जनाले नै सिफारिस गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत ३२ पदमा नियुक्ति भएको थियो ।

‘संवैधानिक परिषद्ले निष्पक्ष व्यक्तिहरूलाई संवैधानिक निकायमा लैजान्छ भन्ने सोचेका थियौं,’ उनले कार्यक्रममा भने, ‘तर उहाँले यसलाई नेकपाको भर्ती केन्द्रको रुपमा लिएर अगाडि बढीरहनु भएको छ ।’