आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

विदेशमा कोरोनाबाट थप दुई नेपालीको निधन

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २१:३४ मा प्रकाशित (३ साल अघि) ४४७ पाठक संख्या

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३५ जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१४ जना छ भने दुई लाख ६८ हजार ९२९ जना अर्थात् ९८ प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।