आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सरकारविरुद्ध भोलिको प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २०:२० मा प्रकाशित (३ साल अघि) ४४३ पाठक संख्या

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि फागुन ३ गतेको सरकारविरुद्धको प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेको छ । आज अपरान्ह एक विज्ञप्ती निकाल्दै उसले संसद विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न पनि अपिल गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ,‘केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’

सभापति शेरबहादुर देउवाको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’