आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

निर्मला र भागिरथीका अपराधीलाई पानी मुनी गए पनि छोडिने छैन: प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर१ फाल्गुन २०७७, शनिबार २३:३० मा प्रकाशित (३ साल अघि) ४१९ पाठक संख्या

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड नेपाल समूहलगायतका राजनीतिक शक्तिलाई आह्वान गरेका छन्।

आफू नेतृत्वको नेकपा लुम्बिनी प्रदेश कमिटिद्वारा बुटवलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘चुनावमा गयो भने प्रतिगमन हुन्छ अरे, ताजा जनादेश हुँदैन भने कस्तो व्यवस्था खोजिएको ? प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानसम्मत ढंगले गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अन्यथा भए राजनीति पुनः अस्थिरता, पटक पटक समीकरण र मोलतोलको तहमा जाने र लोकतन्त्रको हुर्मत लिने अवस्थामा पुग्नेछ।’

पार्टीको आधिकारिकता र चुनाव चिन्ह बहस गरिरहनु नपर्ने विषय भएको बताउँदै प्रधानमन्त्रीले आफूले अहिलेसम्म सूर्य चिन्हबाट मात्र चुनाव लडिरहेको पनि उल्लेख गरे।

देशको अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने र त्यसलाई संविधानको अंग बनाउने काम गरेपछि आफूलाई हटाउने चलखेल सुरु भएको पनि प्रधानमन्त्रीले उल्लेख गरे। ‘गत वैशाखमा मलाई हट्न भनियो, मैले सोधेँ किन? जवाफ अरू छैन, मलाई प्रधानमन्त्री हुन मन लाग्यो मात्र। फेरि मलाई अध्यक्षबाट हट्न भनियो, मैले सोधेँ किन? जवाफ आयो, म आफैं अध्यक्ष हुनुपर्‍यो। मैले ‘प्रधानमन्त्री हुने भए चुनावसम्म र अध्यक्ष हुनेभए महाधिवेशनसम्म पर्खन भनेँ। भनियो, उधारो हुँदैन हाताहाती, नगद चाहिन्छ’, प्रधामन्त्रीले भने।

प्रधानमन्त्रीले समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको समेत बताए।

‘देश बनाउने आफ्नो उदेश्यसँग नमिलेका, समृद्धिको सपना नदेख्ने र अरूले देखे पनि पूरा गर्न नदिने तत्वहरू सरकार र पार्टीबाट बाहिरिएर सडकमा डम्फु बजाइरहेका छन्’, प्रधानमन्त्रीले भने।

सरकारलाई काम गर्न नदिने तत्वहरुले नै पार्टीमा तगाराका रूपमा रहेको पनि प्रधानमन्त्री ओलीले बताए। ‘ती हिजो पार्टी भित्रै बसेर सरकार विरुद्ध जथाभावी बोल्थे, आज बाहिर बोल्दैछन्। तिनले महान शुद्धिकरणका लागि ढोका खोलेका छन्’, प्रधानमन्त्रीले थपे।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले करिब तीन वर्षअघि आफ्नो नेतृत्वमा सरकार बनेपछि भएका दूरगामी प्रभाव राख्ने कार्यहरु आफूलाई हटाउन खोज्नहरुले देख्नै नचाहेको र स्वीकार्ने हिम्मतसमेत नगरेको पनि उल्लेख गरे। ‘मुलुकमा प्रत्येक दिन पाँच किलोमिटरका दरले सडक कालो पत्रे भएको छ । धेरै विमानस्थलहरु रातमा पनि चल्ने भएका छन्। २०७८ साललाई सडक बालबालिका र सहयोगापेक्षी मानवमुक्त घोषणा गर्ने गरी काम भइरहेको छ। अहिले ६८ जिल्ला र पछि सबै ठाउँमा फोर जी सेवा पुग्दैछ’, उनले भने।

प्रधानमन्त्रीले अहिले नेपाल अन्तर्राष्ट्रियस्तरमै चिनिन र सुनिन समेत थालेको समेत उल्लेख गर्दै भने, ‘विश्वकै अर्थतन्त्रलाई प्रभाव पार्न सक्ने जी २० मुलुकको सम्मेलनमा नेपाललाई बोलाइयो र नेपालको प्रधानमन्त्रीलाई सम्बोधन गर्ने अवसर दिइयो, त्यो सानो कुरा होइन।’

प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डबाट १० वर्षसम्म जनता झुक्किएको बताउँदै अब यस्तो सम्भव नहुने समेत बताए। ‘युवालाई अनेक सपना देखाएर शहिदको पंक्तिमा लाम लाग्न भने, आज ती सबै कस्तो हालतमा छन्रु’, उनले प्रश्न गरे। साथै प्रधानमन्त्रीले जनयुद्व लडेकालाई परिचपत्र, परिवारको एक सदस्यलाई रोजगारी र राजनीतिक नियुक्तिमा क्षमताअनुसार प्राथमिकता दिइने समेत बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले निर्मला पन्त र भागिरथी भट्ट हत्याकाण्डका अपराधिलाई जुनसुकै हालतमा पनि सजाँय दिइने बताए। ‘दुई चार महिना वा एकै वर्षै उम्केलान् तर न्यायको कठघरामा ल्याइने छ’, प्रधानमन्त्रीले दाबी गरे।

ओलीले सरकारको लोकप्रियताकै कारण अन्तर्रराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताए। राष्ट्रिय स्वाधिनताका पक्षमा प्रतिबद्ध रहेकै कारण विश्व मञ्चमा नेपालको उपस्थिति देखिएको उनको भनाइ छ। ‘पहिले नेपाललाई बोलाउने चलन थिएन तर अहिले खोज्न थालिएको छ, विश्वमञ्चमा नेपालको उपस्थिति अहिले आवश्यकता हुन थालेको छ’, उनले भने। उनले सामाजिक परिर्वतन, समृद्धि र सुशासनका लागि सरकार अघि बढिरहेका बेला समस्या सिर्जना भएको र केही मानिसले देश बनाउने नभई आफू र आफ्नो गुट बनाउने उद्देश्य नछाडेको उल्लेख गरे।

पार्टीभित्र शुद्धीकरणको आवश्यकता भएका बेला केही व्यक्ति बाहिरिएपछि बल्ल पार्टी शुद्धीकरण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पार्टीबाट बाहिर गएर शुद्धीकरण हुनाका साथै पार्टी गतिशील भएको दाबी गरे। ‘तीन वर्ष पार्टी निस्प्रभावी भयो । गएका वर्षमा हामीले यस्तो आमसभा गर्न सक्दैन थियौँ । अहिले जनतामा उत्साह छाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलनले शुद्धीकरण खोजेको थियो । अहिले आफैँ महाशुद्धीकरण भएको छ।’

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले तीन वर्षसम्म काम गर्न नदिएको स्पष्ट पारे।

तीन वर्षदेखि बन्न नसकेका संवैधानिक आयोग दाहाल–नेपाल पक्ष गएपछि बनेको र काम पनि हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले देश बनाउने सङ्कल्पका साथ नेकपा एकताबद्ध भएर अघि बढेको विचार व्यक्त गरे। सबैले बुझ्ने गरी पार्टी विरोधी गतिविधि हुँदा नेकपा फुट्छ भन्ने आँकलन धेरैले गरेको बताउँदै देशको हित नचाहने बाहिरिएर केही फरक नपर्ने तर्क गरे।