आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रतिगमनविरुद्ध काठमाडौंमा महिला मार्च,टाउकोमा सेतो कपडा बेरेर प्रतिकात्मक शवयात्रा

गोकर्णेश्वर खबर३० माघ २०७७, शुक्रबार २०:३७ मा प्रकाशित (३ साल अघि) ४०९ पाठक संख्या

काठमाडौं – मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ ।

शुक्रबार काठमाडौंको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।

प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।

मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।

आन्दोलनकारीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।