आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

ओलीलाई पन्तको व्यंग्य-‘आलोचना गरौं भने प्रधानमन्त्री फेरि नारायणहिटी गेटमा रूनुहोला’

गोकर्णेश्वर खबर२८ माघ २०७७, बुधबार २२:३१ मा प्रकाशित (३ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा प्रचण्ड नेपाल पक्षले अहिले राजधानीमा आमसभा गरिरहेको छ।

सभामा अहिले वक्ताहरूले बोल्ने क्रम जारी छ। वक्ताहरूले ओलीले गरेको प्रतिगमनको विरोध गरेका छन्।

सभामा बोल्दै प्रचण्ड नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन्।

मन्तव्यको सुरूमै उनले प्रधानमन्त्री ओलीको आफूले आलोचना नगर्ने बताए।

म प्रधानमन्त्री ओलीको आलोचना गर्दिनँ। केही दिनअघि आलोचना गर्दा नारायणहिटी दक्षिण गेटमा रूनुभयो। फेरि आज आलोचना गरे अर्को दिन नारायणहिटीको पश्चिम गेटमा रूनुहोला,’ पन्तले भने।

माघ २३ गते नारायणहिटी अगाडि भएको आफ्नो समूहको सभामा बोल्दाबोल्दै प्रधानमन्त्री ओलीले आँशु पुछेका थिए। उनले चिसोले आँशु आएको बताएका थिए तर उनका प्रेस सल्लाहकार सूर्य थापाले भने ओली भावुक बनेर आँशु आएको बताएका थिए।

आजको सभामा बोल्दै पन्तले प्रधानमन्त्री ओलीले सोही सभामा एकातिर आफ्नो कार्यकालमा इतिहासमै धेरै विकास भएको बताएको र अर्कातिर प्रचण्ड र माधवकुमार नेपालले काम गर्न नदिएको विरोधाभाषपूर्ण कुरा गरेको बताए।

उनले प्रधानमन्त्री ओलीले पशुपतिनाथ गुहारे पनि पशुपतिले उनको रक्षा गर्न नसक्ने बताए।

राजा वीरेन्द्रले सम्बोधनको अन्त्यमा भन्थे पशुपतिनाथले हामी सबैको कल्याण गरून्। उनको वंश नाश भयो। त्यसै भन्ने राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुगे,’ पन्तले भने,‘थाहा छैन ओलीजीलाई पशुपतिले कहाँ पुर्‍याउँछ?’