आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

यसपाली शाली नदीमा भक्तजन घटे

गोकर्णेश्वर खबर१८ माघ २०७७, आईतवार ०९:१६ मा प्रकाशित (३ साल अघि) ४१२ पाठक संख्या

साँखु (काठमाडौं) । गत वर्षको तुलनामा काठमाडौं साँखुस्थित शाली नदीमा लागेको मेला भर्न आउने श्रद्धालु संख्या घटेको पाइएको छ ।

स्वस्थानी व्रत सुरु भएपछि हुने मेलाको पहिलो शनिबार विगतभन्दा कम भक्तजन आएको श्रीमाधव नारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ ।

मेला सुरु भएको तेस्रो दिनमै परेको पहिलो शनिबारमा करिब १४ हजार भक्तजन आइपुगेको समिति अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

‘पहिलो शनिबार भएर पनि कम भक्तजन आएका होलान्,’ उनले भने, ‘विगतका वर्षमा पहिलो शनिबारतिर मात्रै ४० हजारको हाराहारीमा आउने भक्तजन यसपालि कम भएका छन् ।’ उनका अनुसार पहिलाजति दर्शनार्थी आएका छैनन् । कोभिड–१९ का कारण पनि यो संख्यामा कमी आएको हो ।

गएको बिहीबारदेखि यहाँ एकमहिने मेला एवं कठिन व्रत सुरु भएको छ । यो वर्षको एकमहिने व्रतमा कुल ५२ जना सहभागी भएको समितिले जनाएको छ । पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने स्वस्थानी व्रतमा १४ पुरुष तथा ३८ महिला सहभागी भएको समिति अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शाली नदीमा व्रतालुले हरेक दिन बिहान स्नान गरी माधवनारायण दर्शन गर्ने चलन छ । काठमाडौं १७ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन नगर शंकरापुर (साँखु)मा रहेको शाली नदीकिनार स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेशआसपासको क्षेत्र पर्छ ।

शाली नदी पुग्नका लागि श्रद्धालुले ललितपुर सातदोबाटो, काठमाडौं रत्र्नपार्क, चाबहिल चोक, पर्यटकीयस्थल नगरकोटबाट समेत सार्वजनिक यातायातका साधन सहजै पाउन सक्छन् ।

यता, भक्तपुर हुँदै जान चाहनेले नगरकोट सडकखण्डअन्तर्गत तेलकोटबाट २० मिनेटको पैदलै पुग्न सक्छन् । मेलामा व्रत बसेकामा पुरुषका लागि आगो ताप्ने व्यवस्था गुठी संस्थानले गरेको छ । महिलाका लागि भने स्वयं व्रतालुले नै गर्नुपर्ने समिति महासचिव योगेशमान डंगोलले जानकारी दिए ।

व्रतालुको भोजनका निम्ती भात, घिउ, चाकु, चिउरा, सुन्तला, दुध, लप्सी, केराउ, उखु, रातो मूला र पाटने पालुंगो निर्धारण गरिएको समितिले जनाएको छ । यी खाना व्रतालु स्वयंले नै व्यवस्था गर्नुपर्छ । शाली नदीमा स्नान गरेर व्रत बसे सुख शान्ति मिल्ने, चिताएको पुग्ने, पतिको स्वास्थ्य राम्रो हुने र सुयोग्य वर प्राप्त हुने विश्वास छ ।