आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

क्यानडा पठाइदिन्छु भनी ३३ जनाबाट ९० लाख ठगी

गोकर्णेश्वर खबर१५ माघ २०७७, बिहीबार २३:५६ मा प्रकाशित (३ साल अघि) ५३४ पाठक संख्या

पर्वत – विभिन्न देशमा पठाइदिन्छु भनी रकम असुल्ने एक जनालाई जिल्ला प्रहरी कास्कीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–७ घर भई कास्की पोखरा महानगरपालिका–३० सिसुवा बस्दै आएका ३८ वर्षीय धीरजकुमार विश्वकर्मा छन्।

आफू लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायत देशमा धेरै मानिसलाई रोजगारी लागि पठाइसकेको भन्दै विश्वकर्माले ठगेका भन्ने उजुरीका आधारमा समातिएको कास्की प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए।

विश्वकर्मालाई माघ १३ गते मंगलबार पोखरा महानगरपालिका–१० राम बजारबाट प्रहरीले समातेको हो।

प्रहरीले हालसम्म फेला पारेको तथ्यांकअनुसार विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायत जिल्लाका ३३ जना व्यक्तिलाई क्यानडा पठाइदिने भनी ठगी गरेका थिए। उनीहरूबाट ९० लाख ७१ हजार ५ सय रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ।

ठगीमा परेकाहरूले किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

विदेश जान तयार भएकालाई विश्वासमा पार्न विभिन्न सहकारी संस्था र विकास बैंकहरूको चेकसमेत दिएको पाइएको पनि डिएसपी हमालले बताए। पक्राउ परेका विश्वकर्मालाई ठगीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।