आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दै

गोकर्णेश्वर खबर१२ माघ २०७७, सोमबार २२:३१ मा प्रकाशित (३ साल अघि) ३५२ पाठक संख्या

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि मंगलबार बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । तर संसद विघटनविरुद्ध आन्दोलन घोषणा हुने वा नहुने प्रष्ट भइनसकेको नेताहरुले बताएका छन् ।

बैठकको अघिल्लो दिन सोमबार सानेपामा दुई महामन्त्रीसहित दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । तर सभापति निकट नेताहरुले भने सभापतिसँगै सल्लाह गर्नुपर्ने धारणा राखेका थिए ।

छलफलमा सहभागी एक नेता भन्छन्, ‘हामीले थप आन्दोलनका कार्यक्रम आउनुपर्छ, भ्रातृ संगठनहरुलाई पनि परिचालन गर्नुपर्छ भनेका छौं । आउने नआउने टुंगो छैन ।’

पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुको बस्नु अघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । नेताहरुले संसद विघटन असंवैधानिक भएकाले आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरु बताउँछन् । उनले अदालतमा विचाराधीन मुद्धामा बोल्न नहुने र अदालतलाई यसो गर भनेर आन्दोलन गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

देउवा निकट सहमहामन्त्री डा. महतले भने आन्दोलन गर्ने वा नगर्नेबारे पार्टीमा विवाद नै नभएको दाबी गरे । उनले भने, ‘अधिवेशनको तयारी र सरकारको विरोधमा गर्ने आन्दोलनबारे भोलि छलफल हुन्छ र, पार्टीले एकमतका साथ निर्णय गर्छ ।’