आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

प्रधानमन्त्रीको अभिव्यक्तिले अधिनायक आकांक्षालाई थप उजागर गरेको छ : कांग्रेस

गोकर्णेश्वर खबर१२ माघ २०७७, सोमबार २१:१७ मा प्रकाशित (३ साल अघि) ४२६ पाठक संख्या

काठमाडौं – ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।’

सर्वोच्च अदालतमा भई रहेको बहसलाई प्रधानमन्त्री ओलीले ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो,’ विज्ञप्तिमा भनिएको छ ।

‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको छ । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ । उहाँको यो प्रवृत्ति दुःखद् मात्रै होईन, लज्जास्पद पनि छ ।’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई कांग्रेसले चेतावनी दिएको छ ।