आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बीबीएलमा सिड्नी सिक्सर्सविरुद्ध सन्दीपले लिए २ विकेट

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २३:१३ मा प्रकाशित (३ साल अघि) ५४५ पाठक संख्या

काठमाडौं – अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले सिड्नी सिक्सर्स विरुद्ध २ विकेट लिएका छन् ।

होबार्ट हुरिकेन्सले सिड्नी सिक्सर्सलाई ७ रनले पारजित गर्दा सन्दीपले २ विकेट लिएका हुन् । सन्दीपले १२ औं ओभरमा मोएसिस अनरिके र जोर्डन सिल्कको ७० रनको साझेदारी तोडेका थिए ।

अनरिकेलाई १२ औं ओभरको चौथो बलमा डी आर्थी सर्टबाट क्याचआउट गराएका सन्दीपले अर्को बलमा डान क्रिस्टियनलाई शून्यमै बोल्ड गरिदिए । लगातार दुई बलमा दुई विकेट लिएका सन्दीप ह्याट्रिकबाट चुकेका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दा २४ रन खर्चेर २ विकेट लिएका हुन् ।

नाथन इलिएस, सन्दीप र स्कट बोल्याण्ड उत्कृष्ट बलिङ गर्दा १८९ रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर्स २० ओभरमा ८ विकेट गुमाएर १८१ रनमा समेटिएको थियो ।

सिक्सर्सका जोर्डन सिल्कले सर्वाधिक ७८ रन बनाए भने अनरिकेले ४३ रन जोडे ।

त्यसअघि मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले कप्तान म्याथ्यु वेड र डी बर्थी सर्टको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

यी दुईले पहिलो विकेटका लागि १४।३ ओभरमा १४५ रनको साझेदारी गरे । वेडले ४४ बल खेल्दै १० चौका र ३ छक्का मद्दतमा सर्वाधिक ८६ रन बनाए । यस्तै सर्टले ५२ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

सिड्नी सिक्सर्सका सि एबोट, बेन ड्वारसिस र ज्याक बेलले समान २ विकेट लिए ।

सातौं जितपछि १३ खेलबाट २७ अंक जोड्दै होबार्ट पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट ३२ अंकसहित सिक्सर्स दोस्रो स्थानमा छ ।