आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

संसद विघटनको सूचना रातारात राजपत्रमा प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधिशले किन रोके ?

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २२:०२ मा प्रकाशित (३ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं – अदालतमा प्रश्न उठेपछि सरकारले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका छन् ।

संवैधानिक इजलासमा वकिलहरुले अहिलेसम्म प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएका थिए । त्यसको भोलिपल्ट ५ पुसको मितिमा राजपत्र प्रकाशित गरेर इजलासमा पेश गरिएको थियो ।

आइतबार इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले यसबारे प्रश्न उठाएका थिए । राजपत्र प्रकाशित गर्ने प्रक्रिया हुन्छ भन्दै उनले बोल्दा प्रधानन्यायाधीशले तपाईंको निवेदन यहीँ राखेका छौं । अहिले यो विषय प्रवेश नगरौं भनेर रोकेका छन् ।

श्रेष्ठले दुई मिनेटभन्दा समय लिन्न भनेका थिए । तर जबराले भने, ‘जे कुराको पनि ड्यु प्रोसेस हुन्छ । तपाईंले कुरा राखेपछि अर्को पक्षलाई पनि जवाफ दिन दिनुपर्ने हुन्छ । त्यसैले अहिले नगरौं ।’

महान्यायाधिवक्ता अग्नि खरेलले पनि प्रतिवाद गरे । उनले भनेका छन्, ‘इजलासले माग्यो, हामीले दियौं । अहिले त्यस विषयमा छलफल आवश्यक छैन ।’