आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा प्रचण्ड–माधव समूहद्धारा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २०:२० मा प्रकाशित (३ साल अघि) ४५३ पाठक संख्या

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

संसद विघटनलगत्तै प्रचण्ड–माधवको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो ।

३ माघमा बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए । तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ । अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता श्रेष्ठले बताए ।

स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।

बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त संघर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए । संयुक्त संघर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय भएको छ ।

भोलि नै संघर्ष समितिमार्फत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता श्रेष्ठले बताए ।