आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बौद्ध श्रीनगरमा खुल्यो ‘ले हिमालयन फुटसल वेलनेस सेन्टर–नेपाल’

गोकर्णेश्वर खबर१० माघ २०७७, शनिबार २३:१९ मा प्रकाशित (३ साल अघि) ६४६ पाठक संख्या

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, श्रीनगरमा ‘ली हिमालयन फुटसल वेलनेस सेन्टर–नेपाल’को उद्घाटन भएको छ । आज एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालीसे र श्रद्धेय धर्मगुरु खेन रिम्पोछे फूर्वा दोर्जेले संयुक्त रुपमा सो वेलनेस सेन्टरको उद्घाटन गर्नु भयो ।

शारीरिक र मानसिक स्वास्थ्यका लागि फुटबल र खेलकुदको महत्व रहेको कार्यक्रममा सहभागि अतिथीहरुले विशेष जोड दिएका थिए ।
सेन्टरको उद्द्धाटन पछि शुभकामना मन्तव्य दिनु हुँदै गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले आधुनिक सुविधायुक्त फुटसल निर्माणका लागि श्रद्धेय धर्मगुरु खेन रिम्पोछे फूर्वा दोर्जे लगायतलाई हार्दिक आभार व्यक्त गर्नु हुँदै धर्मगुरुबाट शारीरिक र मानसिक स्वास्थ्य तथा सामाजिक स्वास्थ्यका लागि फूटसल तथा वेलनेश सेन्टर बनाउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाबाट आयोजना हुने मेयर कप फुटबल प्रतियोगीता समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नु हुँदै सेन्टरको विकासका लागि आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उद्द्धाटन कार्यक्रममा श्रद्धेय धर्मगुरु खेन रिम्पोछे फूर्वा दोर्जेले आध्यात्मिक जीवनका लागि स्वस्थ शरीर र मन दुबै आवश्यक हुने भएकोले खेलकुदले पनि स्वस्थ शरीर र मन बनाउन सहयोग पुग्ने भएकोले ‘ली हिमालयन फुटसल वेलनेस सेन्टर–नेपाल’ स्थापनाका लागि आफू प्रतिबद्ध भएर अगाडी बढेको बताउनु भयो । उहाँले सेन्टर सञ्चालनबाट आएको नाफा सामाजिक तथा मानवीय सेवा जस्ता परोपकारमा लगाउने पवित्र उदेश्य रहेको बताउनु भयो । श्रद्धेय धर्मगुरु खेन रिम्पोछे फूर्वा दोर्जेले मानिस–मानिस बीचको प्रेम, एकता, मैत्रीपूर्ण भाव तथा शान्ति गर्नका लागि खेलकुदले पनि सहयोग गर्ने भएकोले त्यसका लागि सेन्टरले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा काठमाडौं वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामाले वडा कार्यालय खेलकुदको विकासमा लागिरहेकोमा जोड दिनु हँदै वडावासीहरुका लागि आवश्यक खेलकुदको विकासका लागि वडा सक्रिय रहेको बताउनु भयो ।

कार्यक्रममा खेलकुद, सामाजिक सेवाका क्षेत्रका विशिष्ठ व्यक्तित्व तथा आध्यात्मिक क्षेत्रका लामा गुरुहरुको विशेष उपस्थिती रहेको थियो । महिला बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, लोकप्रिय कलाकार बुद्धि तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । उल्लेख्य संख्यामा उपस्थिती रहेको कार्यक्रममा बाल नृत्य तथा संगीत प्रस्तुत गरिएको थियो ।

उद्धाटन समारोहमा उपस्थित विशेष अतिथी अतिथीहरुलाई श्रद्धेय धर्मगुरु खेन रिम्पोछे फूर्वा दोर्जेले सेन्टरको जर्सि उपहार दिनु भएको थियो । सेन्टरमा पार्किङको राम्रो सुविधा रहेको छ भनें सेन्टरमा फुटबलका अलावा फुटपुल, योगा, ध्यान, जुम्बा, आधुनिक चमेनागृहको सुविधा सहित साँगीतिक वातावरण समेत रहनेछ ।