आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

व्यक्ति हत्या गरेको अभियोगमा जेल परेका ओलीलाई बचाउने कानुनविदमाथि ओलीको दुर्वचन

गोकर्णेश्वर खबर१० माघ २०७७, शनिबार २०:५० मा प्रकाशित (३ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं – घृणात्मक अभिव्यक्तिमा अग्रसर देखिँदै आएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा भइरहेको संसद विघटनसम्बन्धी बहसलाई ‘तमासा’को संज्ञासमेत दिएका छन् ।

विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गरेका हुन् । उनलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले बताए ।

‘संसद पुनस्र्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । वकिलहरुले कुरा फिट्या फिट्यै छन् कोही वकिलहरुले,’ प्रधानमन्त्रीले भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिया हुन् बूढा मान्छेलाई ?‘। लगेछन् ।’

वरिष्ठ अधिवक्ता भण्डारीले दशकौंदेखि लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले शुक्रबारको एक कार्यक्रममा उनलाई अपमानित गर्दै ‘बाजेलाई तमासा देखाउन लगिएको’ भन्दै अपमानित गरेका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारी कसैबाट बोकिएर अदालतमा बहस गर्न गएका होइनन् । उनी राजा महेन्द्रले प्रधानन्यायाधीशको प्रस्ताव गर्दासमेत अस्वीकार गर्ने त्यागी कानुनविद हुन् ।
९४ वर्षको उमेरमा पनि बहसमा सक्रिय रहेका भण्डारीले वकालत सिकाएका मानिसहरु प्रधानन्ययाधीश र प्रधानमन्त्रीसम्म बनिसकेका छन् । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरी, गोविन्दबहादुर श्रेष्ठ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत कानुन सिकाउने गुरु मानिन्छन् भण्डारी ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता एवं ज्येष्ठ नागरिक भण्डारीलाई ‘बाजे’ भनेर अपमानित मात्रै गरेनन्, सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएर अदालतको समेत अपमान गरे । एक कानुनविदले भने, ‘प्रधानमन्त्रीले बोलेको यो कुरा सामान्य होइन, अदालतको मानहानी हो ।’

‘तमासा देखाउन, दुःख दिएर लगिएका बाजे वकिल’ भन्दै केपी ओलीले अपमानित गरेकावरिष्ठ अधिवक्ता भण्डारी तिनै व्यक्ति हुन्, जसले पञ्चायतकालमा स्वयं ओलीलाई ज्यान मुद्दाबाट बचाउन दुःख गरेका थिए ।

काठमाडौं र झापामा मात्र होइन, धनकुटामा समेत ओलीको पक्षमा मुद्दा लड्न भण्डारीले धरानबाट चिउरीबास र मुलघाटको कष्टपूर्ण उकालो ओरालो पैदल यात्रा गरेका थिए ।

वरिष्ठ अधिवक्ता भण्डारीको नजिक रहेर काम गरेका एकजना कानुनविदले भने, ‘त्यसबेला उहाँले केपी ओलीका लागि निकै दुःख गर्नुभयो । धरानबाट पैदलै हिँडेर धनकुटासम्म पुग्नुभयो ।’

केपी ओली त्यसबेला झापामा व्यक्ति हत्या गरेको अभियोगमा जेल परेका थिए । पञ्चायती सरकारले उनीमाथि ज्यान मुद्दा लगाएको थियो ।

झापामा ०२८,०२९ सालतिर केपी ओलीको समूहले व्यक्तिहत्याको राजनीति अवलम्वन गरेको थियो । त्यसबेला केही धनी किसानहरुको टाउको काटेर हत्या गरिएको थियो । फरार रहेका ओली रौतहटबाट पक्राउ परेका थिए, जो १४ वर्षपछि जेलमुक्त भए ।